नेपाली समय:
Flash News

काठमाडौंको गाईफार्ममा आगलागी करोडौंको क्षति

मजदुर अनलाईन सम्बाददाता ३ असार, काठमाडौं । काठमाडौंको गोर्कणेश्वर नगरपालिका १ नयाँपार्टी विपीचोकमा रहेका एक गाई फार्ममा शनिवार आगलागी हुँदा ८० गाई जलेर मरेका छन् ।
गोर्कणेश्वरको विपीचोकमा रहेको ओम कृषि फार्ममा शनिबार विहान ११ बजे आगलागी हुँदा ५८ वटा जलेर मरेका छन् भने अन्य १५–१६ वटा गाई गम्भीर अवस्थामा छट्पटाइरहेको फार्मका संचालक जर्नादन खड्काले बताउनु भयो ।
प्रोफेसर बाबुराम कार्की, वागमती सफाइ अभियन्ता महेश बस्नेत, जनादर्न खड्का लगायतको टिमले झण्डै ४ करोड लगानी गरेर ४ महिना अघि सुरु गरेका थिए ।

शनिबार बिहान ११ बजे फार्मका संचालक गाइलाई दाना दिएर आराम गरिरहेको अवस्थामा विद्युत् सर्ट भएर एक्कासी आगो लागेपछि ५ मिनेटमा सबै ध्वस्त भएको पनि खड्काले बताउनु भयो । खड्काका अनुसार बौद्ध र सुन्दरी जलका प्रहरीले अहिले पनि गाइको रेस्क्यु गरिरहेका र नेपाली सेना उद्धार कार्यमा संलग्न भएर केही समय अघि मात्र फर्केका थिए ।

खड्काका अनुसार गाईहरुको विमा भने गरिएको छ । यसैबीच सुन्दरीजल प्रहरी चौकीका इन्चार्ज सइ दिपेन्द्रजंग थापाले आगोबाट व्यापाक क्षति पुगेको र कारण तथा परिणामका लागि प्रहरी गम्भीरतापूर्वक लागिरहेको बताएका छन् ।

त्यस्तै सामाजिक अभियन्ता तथा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले त्यहाँको अवस्था हेर्नै नसकिने र अत्यन्तै दर्दनाक रहेको बताउनु भएको छ । यसैबीच अष्ट ‘ज’ अभियान नेपालका महासचिव निलकण्ठ  तिवारीले  उक्त घटनाले अष्ट ज अभियान परिवार मर्माहत बनेको बताउनु भएको छ । उहाँले  फार्मका संचालक  जर्नादन खड्कालाई  दुःखद घटनाको सामना गर्न अष्ट ‘ज’ परिवार सँगै रहेको तथा  पशुपंक्षी मंत्रालयका सचिव डा. युवकध्वज जिसीसँग अविलम्ब  ध्यानाकर्षणको आग्रह गर्नु भएको छ ।

तस्बिरहरु :जीवन श्रेष्ठबाट