नेपाली समय:
Flash News

वैदेशिक रोजगारबारे निर्णय गर्दा ध्यान दिनुपर्ने कुराहरू एकपटक अवस्य पढौँ

वैदेशिक रोजगारीमा जाँदा परिवारको व्यवस्थापन गर्ने  काम सजिलो छैन । यसको लागि पारिवारिक सल्लाह राम्रोसँग गरेर मात्र जानुपर्छ । परिवारको प्रकार हेरेर सल्लाह पनि फरकफरक हुन्छ । जस्तै:

ठुलो परिवार भए

  • छलफल गर्नुपर्ने कुरापनि धेरै हुन्छ
  • धेरैबाट धेरैखाले कुरा आँउदा निर्णय गर्न गाह्रो हुन्छ
  • सबैको मन बुझाउन नसके परिवारमा असन्तुष्टी बढ्न सक्छ । साथै पैसा कस्को नाममा पठाउने भन्ने पनि निर्णय गर्न गाह्रो हुन्छ
  • विदेशबाट कमाएको पैसाले के गर्ने भन्ने  निर्णय गर्न पनि अफ्ट्यारो हुन्छ

सानो परिवार भए

  • विदेश जानको लागि पैसा खोज्न सजिलो भए पनि आफू जाँदा परिवारलाई हुने गाह्रोलाई कसरी कम गर्ने मिलाउनुपर्छ
  • श्रीमान् वा श्रीमती एक्लै बस्दा कता बस्ने, साना केटाकेटी भए कसरी स्याहार गर्ने,केही गाह्रो अफ्ट्यारो परेमा के गर्ने, भएका चिजहरू जस्तै खेतबारी वा गाईबस्तुलाई कसरी मिलाएर जाने भन्ने गाह्रो हुन्छ
  • आफू विदेशबाट नफर्किएसम्म कुनै ठुलो पारिवारिका काम गर्न सकिँदैन
  • पठाएको पैसाको दुरुपयोग हुने सम्भावना पनि धेरै हुन्छ

सल्लाह गरेपछि निर्णय कसरी गर्ने त?

  • सल्लाह गर्दा सबैले केही न केही सल्लाह दिएकै हुन्छ्न । तर निर्णय गर्दा सबैले भनेको नहुन सक्छ । भनिएका सबै कुराहरूलाई दोहोर्याँउदै यसो गर्दा कस्तो हुन्छ भन्दै निर्णय सुनाउने
    • जस्तै ‘आमा र बुवाले भनेको कुरा पनि ठिकै हो तर दाजुले भनेको कुरा गर्दा सबैलाई फाइदा हुन्छ’ भन्न सकिन्छ
  • कुन देश जाने कुरामा सल्लाह हुँदैछ भने कसैले मलेसिया त कसैले कतार वा यूएई भन्नसक्छन् । गाँउको कोही मान्छे वा आफन्त कोही विदेशमा घाइते भएको वा बितेको छ भने त झन् आमा हजुरआमाहरूले त्यो ठाउँ नराम्रो छ नजानु भन्न सक्नुहुन्छ । यदि तपाईँ त्यही ठाँउनै जाँदै हुनुहुन्छ भने संझाउन मुस्किल हुनसक्छ । त्यसको लागि तपाईँ जाने काम के हो, सुरक्षित कसरी रहनुहुन्छ भन्नेजस्ता कुराहरू ध्यान दिएर भन्नुपर्छ ।
    • जस्तै ‘त्यो ठाउँ नराम्रो हैन आमा । म यो कामको लागि यसरी जान लागेको । दिनदिनै फोन गर्न मिल्छ’ आदि भन्न सकिन्छ
  • विवाह गरेर जाँदै हुनुहुन्छ र अहिलेसम्म संयुक्त परिवारमै बस्नुहुन्छ भने विदेश जाँदा लागेको पैसा कसरी जुटाउने र विदेश गएपछि कसलाई पैसा पठाउने भन्ने निर्णय गर्न गाह्रो हुन्छ । यसको लागि सुरुवातमै म यो महिना बुवाआमालाई र यो महिना श्रीमतीलाई वा घर खर्चको लागि यो व्याक्तिलाई पैसा पठाउँदैछु भनेर निश्चित गरेर जाने
    • भरसक पहिलो चोटि ऋण तिर्ने र दोस्रो चोटि घर वा खेत किन्ने । सबै परिवार सहभागी हुने योजना बनाउँदा सजिलो हुन्छ
    • यदि सबैलाई सँगै राख्दा परिवारमा समस्या आउन सक्छ जस्तो लाग्छ भने परिवारलाई छुट्याएर जाँदा पनि राम्रो हुन्छ
  • कहिलेकाँही जाँदै छु भनेर भन्दा परिवारलाई नराम्रो लाग्नसक्छ । यदि त्यस्तो भएमा यति समयमा फर्किन्छु वा यति दिनपछि बिदामा आउन सकिन्छ भन्दा सजिलो हुन्छ
  • निर्णय गर्दा सकेसम्म ‘तपाईँले भनेको ठिक हो तर अहिले चाँहि यसो गर्दा ठिक होला’ भनेर भन्यो भने सबैको चित्त बुझ्छ
  • सबैको कुरा नसुनी निर्णय गर्नुहुँदैन । यस्तो भयोभने पछि कुनै आपत् पर्दा वा अभर पर्दा असहयोग हुने सम्भावना धेरै हुन्छ ।

स्रोत: विदेश जान लागेका तथा विदेश पुगेर फर्किएका विभिन्न व्यक्तिहरूसँग गरिएको कुराकानीको आधारमा तयार पारिएको