नेपाली समय:
Flash News

यातायात व्यवसायी महासंघलाई मजदुर संघले बुझायो तीन बुँदे मागपत्र

शरद सुवेदी
३१ असोज, काठमाण्डौं  अखिल नेपाल यातायात मजदुर संघ केन्द्रीय समितिले असोज २९ गते नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा एक औपचारिक कार्यक्रमका वीच तीन बुँदे मागपत्र पेश गरेको छ ।
अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष सोम तामाङ्गले मागपत्र बुझाउँदै यो मागपत्रलाई यातायात मजदुरहरुलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउने अभियानको रुपमा बुझ्न आम मजदुर तथा व्यवसायीहरुलाई आह्वान गर्नुभयो, साथै उहाँले यसले यातायात क्षेत्र देशको मर्यादित व्यवसायका रुपमा रुपान्तरण हुने विश्वास समेत व्यक्त गर्नुभयो त्यसैगरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवहाक अध्यक्ष डोलनाथ खनालले मागपत्र बुझ्दै यातायात मजदुरका समस्याहरु मजदुर तथा व्यवसायी विचको सहकार्य मार्फत समाधान गरेर अगाडि बढ्ने बताउनुभयो ।
मागपत्रमा यातायात मजदुरहरुको सम्बन्धित व्यवसायीक संघ, संस्था, समिति, कम्पनी मार्फत नै नियुक्ति पत्र प्रदान गर्ने, देशभर यातायात क्षेत्रमा कार्यरत मजदुरहरुको आधारभूत पारिश्रमिक निर्धारण गर्ने र सोही पारीश्रमिकका आधारमा यातायात मजदुरहरुलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउने विषयलाई जोडदार पूर्वक समावेश गरिएकोछ । अखिल नेपाल यातायात मजदुर संघले यातायात क्षेत्रमा रहेका विकृति, विसंगतिका बारेमा यही असोज २५ गते गृह मन्त्रीको समेत ध्यानाकर्षण गराईसकेको छ ।
अखिल नेपाल यातायात मजदुर संघ केन्द्रीय पादाधिकारीको भाद्र २८ गते सम्पन्न बैठकले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र नेपाल ट्रक यातायात व्यवसायी महासंघमा मागपत्र पेश गर्ने निर्णय गरेको थियो । सोही बमोजिम देशभरका यातायात व्यवसायी संघ÷संस्था÷समिति÷ कम्पनीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा मागपत्र पेश गरिएको हो ।


यातायात क्षेत्रलाई थप व्यवस्थित, विश्वसनीय र मर्यादित पेशाको रुपमा विकास गर्नको लागि यसमा प्रयोग गरिएको श्रम र पूँजीको संरक्षण विकास र प्रवद्र्धन गर्नु आजको प्रमुख चुनौति रहेको र यो चुनौतिलाई समाधानको बाटोमा लैजान यो मागपत्र पेश गरिएको उल्लेख गरिएको छ । त्यस्तै एकाथरी व्यवसायीहरु जसरी पनि चुनाव जित्ने र चुनाव जितेपछि यातायात मजदुर र व्यवसायीहरुको शासक बन्ने प्रवृत्ति हावी भएकोले आम मजदुर तथा व्यवसायीहरुमा श्रम तथा लगानी प्रतिको चिन्ता प्रकट भएको उल्लेख गरिएको छ । मागपत्रमा देशैभरीका बसपार्कहरु व्यापारिक कम्पलेक्सका रुपमा विकास हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै बसपार्कहरुलाई यात्री, मजदुर र व्यवसायी मैत्री निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । त्यस्तै हाल बन्दै गरेका भौतिक संरचनाहरु अत्यन्तै कम्शल गुणस्तरका कारण ठूलो जिउ धनको जोखिम रहेको र दुर्घटना पश्चात त्यसको सम्पूर्ण दोष यातायात मजदुरले व्यहोर्नुपर्ने परिस्थिति प्रति गम्भीर ध्यानाकर्षण गराइएको छ । त्यसैगरी अखिल नेपाल यातायात मजदुर संघको नेपाल यातायात व्यवसायि राष्ट्रिय महासंघ संग ०६८ असोज ३ गते सम्पन्न सम्पूर्ण यातायात मजदुरहरुलाई नियुक्ति पत्र प्रदान गर्ने सहमति कार्यान्वयन नभएको स्मरण गराउँदै भएका सहमतिहरुको कार्यान्वयन गरेर यातायात मजदुर संघ र व्यवसायी समितिहरु वीचको सम्बन्ध सुदृढ पार्न समेत आह्वान गरिएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष डोलनाथ खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासंघका महासचिव सरोज सिटौलाले गर्नुभएको थियो । महासंघमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष भरत तिमल्सिना, कोषाध्यक्ष सुयस पौडेल लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । त्यसैगरी कार्यक्रममा अखिल नेपाल यातायात मजदुर संघका उपाध्यक्ष रामचन्द्र कार्कीले मागपत्र पढेर सुनाउनुभएको थियो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा आवद्ध सवै संघ÷संस्था÷समिति कम्पनीहरुमा बोधार्थको रुपमा सो मागपत्र बुझाईने बताइएको छ ।