नेपाली समय:
Flash News

अन्टुफ सामाजिक सुरक्षा ऐन कार्यान्वयन गराउनमा क्रियाशील

काठमाण्डौ, Kartik 14
अखिल नेपाल टे«ड युनियन महासंघ र आईएलओको संयुक्त आयोजनामा काठमाण्डौ उपत्यकाभित्रका महानगरपालिका, नगरपालिकाहरुमा स्थानीय निकायमा रोजगारको सिर्जना, सामाजिक सुरक्षाको कार्यान्वयन र श्रम ऐन लागू गर्ने, नीति निर्माणको तहमा श्रमिकहरुको प्रतिनिधित्वका विषयमा स्थानीय निकायका मेयर, उपमेयर, वडा अध्यक्षहरु तथा वडासदस्यहरु र सो निकायमा कार्यरत कर्मचारीहरुसंग बृहत अन्तरक्रियात्मक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
कार्यक्रममा स्थानीय निकायका पदाधिकारीहरु तथा कर्मचारीहरुको उत्साहजनक उपस्थिति रहने गरेको छ । विभिन्न पेसागत संगठनमा आवद्ध श्रमिकहरुको पनि उल्लेख्यमात्रामा सहभागिता रहने गरेको छ ।

हालसम्म झण्डै ३५० जना श्रमिकहरुले भाग लिइसकेका छन् । नगरपालिका प्रमुखहरुबाट पनि श्रम सम्बन्ध समिति गठन गरेर श्रमिकको तथ्याङ्क संकलन गरी सामाजिक सुरक्षा कोषको कार्यान्वयन, व्यवसायजन्य सुरक्षा, कार्यथलोको अवस्था तथा बेतन सम्बन्धी विवादलाई हल गर्दै सुमधुर श्रम सम्बन्ध कायम गराउने वचन बद्धता दिएका छन् ।
कार्यक्रमको संयोजक अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष धनबहादुर बिकले गरिरहनु भएको छ भने कार्यबाहक अध्यक्ष गणेश रेग्मीले स्थानीय निकायबाट श्रमिकहरुले अपेक्षा गरेका विविध विषयलाई समेटेर कार्यपत्र प्रस्तुत गरेपछि सहभागीहरुवीच छलफल चलाईने गरिएको छ ।

कार्यक्रम काठमाण्डौ जिल्ला अन्तरगतको गोकर्णेश्वर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, ललितपुर जिल्लाको ललितपुर महानगरपालिका, गोदावरी नगरपालिकामा सम्पन्न भैसकेको छ । अव काठमाण्डौ महानगरपालिका, किर्तिपुर नगरपालिकामा केही दिनभित्रमा नै हुने भएको छ । कार्यक्रममा महासंघका ३ नम्बर प्रदेश इन्चार्ज तथा महासंघका उपाध्यक्ष जय कार्कीले नियमितरुपमा उपस्थिति जनाई आफ्ना धारणाहरु प्रस्तुत गर्दै आउनु भएको छ ।