नेपाली समय:
Flash News

फ्ल्यासब्याकमा पदम खड्का – मातृका पोखरेल

                                                      Prof.Padma Khadka

कमरेड पदम खड्काको बारेमा मैले के लेख्ने ? यो प्रश्न मभित्र धेरै लामो समयसम्म खेलिरह्यो स्मृतिमा केही लेख्नु भनेको उहाँको जीवनसँग घटेका घटनालाई सम्झनु हो । लामो समयसम्म त्यसै बसें । निनु दाइ (चापागाईं) को निरन्तरको आग्रह झेल्न पनि सजिलो भएन । झेल्न खोजेको पनि होइन । मैले यसो भन्नुको एउटा कारण थियो । लेख्न अठोट गर्नु भनेको सम्झिनुपर्ने मानिसका बारेमा मैले बेग्लै र विशेष कुरा भन्न सक्नु पथ्र्याे । त्यही खोजीले मलाई उहाँका बारेमा लेख्ने हिम्मत जुटाउन गारो परेको थियो । यो प्रश्न मनभित्र उठिरहेको भए पनि एउटा असल मान्छेको सम्झनामा मैले केही लेख्नै पर्छ भन्ने आग्रहले पनि मलाई भित्रभित्रै कोतरेको महशूस भइरहेको थियो ।

२०४८।४९ सालको तिहारको एक साँझ । गल्लीभरी देउसी खेल्ने मानिसहरूको भीड थियो । देउसी खेल्न हिड्नेहरू मध्येकै हाम्रो पनि एउटा समूह थियो । अखिल नेपाल जनवादी युवा लिगको नाममा हामीले पनि एउटा देउसी समूह बनाएर खेल्न हिंडेका थियौँ । हामीसँग हिड्ने मध्येको एकजना साथीले मंगलबजारको पूर्वपट्टिको एउटा पुरानो घरको ढोका ढक्ढक्याउनु भयो । ढोका ढक्ढक्याउने साथीलाई एकजना साथीले सम्झाउँदै थिए । “उहाँलाई दुःख नदिउँ, भरखरै मात्र जागिर खोसिएको छ । त्यतिबेलै माथिल्लो तल्लाको झ्यालबाट एउटा हँसिलो अनुहारले हामी सबैलाई सामुहिक स्वागत ग¥यो । त्यही थाहा भयो– उनै रहेछन् इन्जिनियर पदम खड्का । जागिर खुस्किएको अवस्थाले पारेको अभावको आभाष उनले हामीलाई दिंदै दिएनन् । त्यसबेला उनले हामीलाई सकेको सहयोग गरे । त्यसपछि उनी हामी सँगसँगै देउसी टिममा मिसिए । त्यो भेटपछि पदम दाइको मृत्युपर्यन्त कुनै न कुनै रूपमा नजिकै रहने अवशर मलाई प्राप्त भयो ।

यतिबेला फर्केर सोच्छु, पदम खड्का दाइसँग नजिक भइरहने कारण के थियो ? यो प्रश्नको उत्तर खोज्न म आफैँले चाहेको थिएँ । उहाँसँग नजिक हुनुको एउटा कारण रहेछ । यतिबेला बुझ्दैछु । हाम्रा केही सपनाहरू थिए । कुनै न कुनै ढङ्गले हामी ती सपनाहरूको खोजी गरिरहथ्यौँ । खोज्थ्यौँ तर पाउँदैनथ्यौँ । त्यो सपनाले एउटा छटपटी जन्माएको थियो हामी दुवैमा । हुनत, यो छट्पटी बोक्ने मानिसहरू हामीमात्रै थिएनौँ । धेरैधेरै हुनुहुन्थ्यो । अग्रजहरू पनि थुप्रै हुनुहुन्थ्यो । समकालीन साथीहरू पनि हुनुहुन्थ्यो । एउटा कुरामा हाम्रा बीचमा समान बुझाइ रहेको थियो । मलाई यतिबेला लाग्छ, हामी दुवैजना नेता बन्न हिंडेका थिएनौं । तर एउटा आग्रह हामीमा जवर्जस्त थियो । हामीभन्दा अघि हिड्ने मानिस संस्कार, संस्कृति र आदर्शमा अब्बल हुनु जरूरी लाग्थ्यो । हामी त्यस्ता मानिसहरूलाई पच्छ्याउन चाहन्थ्यौँ । तर व्यवहारमा कतै त्यस्को छनक नभेटेपछि एउटा छट्पटीको सिर्जना हुन्थ्यो । त्यही छट्पटीले हामीलाई नजिक बनायो, अझ भन्नुपर्दा धेरै नजिक बनायो ।
एकताकेन्द्रमा रहँदा थोरै मात्र देखा पर्ने त्यो छट्पटी पार्टी एकता पछि झनै बढेर गयो । पदम दाइ बुद्धिजीवि मोर्चामा रहँदा त्यसको अध्यक्ष हुनुहुन्थ्यो । प्रगतिशील बुद्धिजीवि संगठन आयतनका दृष्टिले ठूलो संगठन नभए पनि बुद्धिजीवि मानिसहरूले र संगठनले गर्नुपर्ने काममा प्रशस्तै सक्रियता थियो । यो संगठन नेपालका बुद्धिजीविहरूका बीचमा आफ्ना कर्मले स्थापित थियो । बुद्धिजीवि संगठनले कस्ता कस्ता भूमिका निर्वाह गर्नुपर्छ भन्ने बारेमा उहाँले नेतृत्व गर्नु भएको बुद्धिजीवि संगठन उदाहरणीय थियो । राष्ट्रिय मुद्धाहरूमा त्यो संगठनले आलोचनात्मक चेत सहितको हस्तक्षेपकारी भूमिका खेल्थ्यो । प्रगतिशील बुद्धिजीवि संगठनबाट प्रकाशित ‘वामपन्थ’ नामको मुखपत्रका प्रत्येक अङ्कहरू यसका साक्षी छन् ।

एकताकेन्द्र सानो पार्टी थियो । हामी ठुलो पार्टीसँग एकतामा जाँदै थियौँ । हाम्रा बीचमा केही शंका÷आशंका थिए तर त्यो भन्दा बढी एउटा उत्साह थियो । निनु चापागाईंले नेतृत्व गर्नु भएको प्रगतिशील सांस्कृतिक संगठनमा म महासचिव थिएँ भने उहाँ बुद्धिजीवि सङ्घको स्वयम् अध्यक्ष हुनुहुन्थ्यो । एकतामा गएपछि हामीलाई हेर्ने दृष्टिकोण बढि नकारात्मक बन्न सक्छ भन्ने पनि ठुलै मत थियो । जनयुद्धले नेपाल समाजको रूपान्तरणमा महŒवपूर्ण भूमिका निर्वाह गरेको कुरामा तत्कालीन एकता केन्द्रमा कुनै फरक मत थिएन । तर जनयुद्धमा देखिएका समस्याहरूलाई खरो रूपमा आलोचना पनि एकताकेन्द्रभित्रैबाट भएको थियो । एकतापश्चात अलि धेरै समस्या बुद्धिजीवि मोर्चामैं देखियो । बुद्धिजीवि संगठनको मूल नेतृत्व एकताकेन्द्रबाट जाने नेतृत्वलाई दिइने भन्ने समझदारी भएको थियो । अन्य जनवर्गीय संगठनमा करिब करिब समझदारी लागु भयो । तर ‘जनयुद्ध’ का गौरवशाली पृष्ठभूमि भएका साथीहरूले उक्त समझदारी स्वीकार्न सकेनन् । निश्चित रूपमा एकताकेन्द्र निकट बुद्धिजीवि संगठनको अध्यक्ष पदम खड्का हुनुहुन्थ्यो र एकता पश्चात बन्ने एकीकृत संगठनको अध्यक्ष पनि उहाँनै हुनुहुन्थ्यो । विभिन्न बहानामा एकतामा भएको समझदारीलाई लागु हुन दिइएन । ‘जनयुद्ध’ बाट आएको व्यक्तिलाई सुन देख्ने र कम्युनिष्ट आन्दोलनको अन्य धाराबाट आएकालाई पित्तल देख्ने रोगबाट माओवादी आन्दोलन अहिलेसम्मै प्रताडित भइरह्यो । पदम खड्कालाई अध्यक्ष बन्न त दिइएन, दिइएन तर जनयुद्धका खाँटी क्रान्तिकारी हौँ भन्ने साथीहरूले एक÷दुई वर्ष पछि नै लालझण्डा फ्याँक्नु मात्र भएन कम्युनिष्ट विचारलाई गाली समेत गर्दै हिड्नु भयो । तर पदम खड्का आफ्नो विचारप्रति सदा प्रतिबद्ध रहनुभयो । पार्टी एकतापछि एक प्रकारले भन्ने हो भने उहाँ अपमानित भएरै रहनुभयो । तर पनि विचार र दृष्टिकोणमा अडिग भएरै रहनुभयो ।

ने.क.पा. एकताकेन्द्र एकतामा आएपछि पदम खड्काले मात्रै त्यो अपमान भोग्नु भएन । अपमान भोग्नेको सूची लामै भयो । तर एउटा प्रश्नले भने मलाई पछिसम्म पनि छोडेन । पदम खड्का अध्यक्ष रहनु भएको प्रगतिशील बुद्धिजीवि संगठनले विषयमाथि केन्द्रित रहेर जनवर्गीय संगठनको नेतृत्व प्रदान ग¥यो । एकता पश्चात् यस्ता जन संगठनले गर्नु पर्ने कामभन्दा अरूनै विषयमा प्राथमिकता दिए । जनवर्गीय संगठन र नेतृत्वको काम पार्टी नेताका वरिपरि घुम्नुमात्रै हुदैनथ्यो । यस्तो आग्रहका बीचमा पद्म खड्का बारम्बार सम्झनामा आइरहनु भयो ।

लेख्दालेख्दै फेरि सोचीरहेको छु । पदम खड्का मेरो मनमा बस्न किन सफल हुनुभयो । यसको मूर्त उत्तर खोज्ने कोशिस पनि गरिरहेको छु । यही उत्तर खोज्ने क्रममा श्रङ्खलाविहिन सम्झनाहरू अघिल्तिर आएर थुप्रो लाग्छन् । सम्झनामा यी सबै थुप्रोको समग्र जोडफल नै शायद पदम खड्का मेरो मनमा बस्नसक्नुको वास्तविक उत्तर हुन्छ । अन्यौलग्रस्त राजनैतिक सांकृतिक अवस्थाले पनि यतिबेला पदम खड्काको सम्झना बढिरहेको छ । यतिबेला पदम खड्का हुनुभएको भए ? उहाँजस्तै बितेर गएका केही मान्छेहरू मानसपटलमा आउछन् । केही मान्छेहरू अझै तर्क गर्न छाडेका छैनन् । मान्छेको मृत्यु अवम्याम्भावी भएकाले अपुरणीय हुँदैन । तर किन किन यो तर्क पदम खड्काको सन्दर्भमा मलाई लागु हुनै सकेन । पदम दाइ ! फेरि पनि हार्दिक श्रद्धाञ्जली !