नेपाली समय:
Flash News

पद्म खड्कालाई सम्झनुको सार्थकता –डि.आर. पौडेल

एकाबिहानै साथीहरूले फोन गरेर पद्म सरलाई हृदयाघात भएको र राती नै नर्भिक अस्पताल लगिएको जानकारी दिनुभयो । पहिले त मैले यो कुरालाई पत्याउनै सकिँन । किनकि अघिल्लो दिनमात्रै बुद्धिजीवी सङ्गठनका उपत्यकामा भएका केही साथीहरूलाई भेला गरेर पुल्चोक हरिहरभवनस्थित मन्त्री क्वार्टरमा तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई समवेदना दिन उहाँ जानुभएको, साथीहरू भेला भएर दुःखसुखका, राजनैतिक परिस्थितिका बारेमा छलफल भएको र त्यसमा म छुटेको कुरा अघिल्लो साँझ नै साथीहरूले मलाई भन्नुभएको थियो । मन्त्री गिरिराजमणि पोखरेल बुबाको निधनमा शोक,श्रद्धाञ्जली र समवेदना व्यक्त गर्न आउनेहरूको सुविधाको लागि मन्त्री क्वार्टरमै बसिरहनु भएको थियो ।
हृदयाघात भएपछि उहाँलाई राती नै नर्भिक अस्पतालमा पु¥याइएछ । बिहान उज्यालो हुन नपाउँदै सयौंको संख्यामा हामी उहाँका राजनैतिक सांगठनिक साथीहरू, सहकर्मी प्राध्यापकहरू, विद्यार्थीहरू र परिवारजनहरू नर्भिक अस्पतालमा पुग्यौं । हामी त्यहाँ पुग्दा उहाँको निधन भैसकेको थियो । हामी भाव विह्वल भयौं । सबैको अनुहार मलिन भयो । आँखा रसिला हुन थाले, मुखबाट वाणी निस्कन गाह्रो हुन थाल्यो । वातावरणमा सन्नाटा छायो । म स्तब्ध भएँ, उहाँसँगको सहकार्यको संस्मरणात्मक रिल दिमागमा घुम्न थाल्यो । धेरै साथीहरूजस्तै म पनि अवाक भएँ ।
जसरी उहाँ सिद्धान्त र विचारलाई जीवन व्यवहारमा लागू गर्नुपर्ने र त्यो समाजको हितमा हुनुपर्ने भन्नुहुन्थ्यो, त्यसरी नै आफ्नो पार्थिव शरीरसमेत मानव हितमा उपयोग हुन सकोस् भन्ने मनसायले मृत्यु हुनुभन्दा केही दिनअगाडि मात्र आँखा र सिङ्गो शरीर चिकित्साशास्त्र र शरीर विज्ञान अध्ययन गरिरहेका विद्यार्थीहरूको लागि अध्ययन सामग्री बन्न सकोस् भनेर शरीरदान गर्ने बारेमा परिवार र नजिकका साथीहरूसँग छलफल चलाउनु भएको रहेछ । त्यसअनुसारको प्र्रक्रिया अघि बढि नसकेको भए पनि उहाँको इच्छा र चाहनाको सम्मान गर्दै शवदानको प्रक्रिया अघि बढाएर उहाँको शवलाई त्रिवि शिक्षण अस्पताललाई हस्तान्तरण गर्ने निर्णय भयो । त्यसअनुसार तत्कालै आवश्यक कानूनी प्रक्रिया पूरा गरेर उहाँको शरीर त्रिवि शिक्षण अस्पताललाई बुझाइयो । यसरी उहाँले जीवनमा आफ्ना विद्यार्थी, साथीसङ्गी, राजनीतिकर्मीहरू र समाजलाई त आफ्नो ज्ञान चेतना, क्षमता र योग्यता अनुसारको शिक्षा दिनुभएको थियो नै, उहाँको मृत शरीरबाट पनि विद्यार्थीहरूले पढ्ने, सिक्ने र लाभान्वित हुने अवसर प्राप्त गरे । उहाँका परिवारजन र हामी केही साथीहरू शव अन्त्येष्टीको नयाँ प्रक्रियामा सहभागी बन्दै उहाँको शवलाई त्रिवि शिक्षण अस्पताललाई हस्तान्तरण गर्दै अन्तिम बिदाइ गरेर फर्केका थियौं ।
पद्म खड्का नेपालको शैक्षिक, प्रशासनिक र बौद्धिक क्षेत्रमा स्थापित नाम हो । त्यसो त नेपालको कम्युनिष्ट आन्दोलनलाई एउटा उचाइमा पु¥याउनमा पनि उहाँको योगदान छ । पृष्ठ भागमा रहेर भए पनि उहाँले कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन सहयोग गर्नुभएको छ । कम्युनिष्ट पार्टीका हरेक सदस्यले आफूलाई जनताका बीचमा स्थापित गर्नुपर्छ भन्ने मान्यता उहाँ राख्नुहुन्थ्यो । कम्युनिष्ट आन्दोलनमा अघि बढ्न चाहने युवाहरूको लागि उहाँ प्रेरणाको श्रोत हुनुहुन्थ्यो ।
काभ्रेको दुर्गम गाउँमा जन्मिनु भएका पद्म खड्काले प्रारम्भिक शिक्षा गाउँकै विद्यालयमा लिनुभयो । पछि उहाँ सोभियत रुसको छात्रवृत्तिमा इन्जिनियरिङ अध्ययन गर्न रुस जानुभयो । अध्ययनको क्रममा सोभियत रुसलाई, त्यहाँको समाजवादी आन्दोलनलाई उहाँले नजिकबाट जान्नेबुझ्ने अवसर पाउनुभयो । व्यक्तिले अवलम्बन गर्ने दर्शन, विचार र व्यवहारबीचको अन्योन्याश्रित सम्बन्ध र कम्युनिष्ट पार्टीको दार्शनिक, राजनैतिक, सांगठानिक कार्यदिशा र त्यसको रणनीति र कार्यनीतिका बीचको सम्बन्धका बारेमा उहाँमा जुन प्रष्टता थियो, हरेक वस्तु र घटनालाई हेर्ने भौतिकवादी दृष्टिकोण थियो, त्यो उहाँले रुसमा अध्ययन गर्ने क्रममा प्राप्त गरेको ज्ञानमा आधारित थियो ।
उहाँ बाल्यकालदेखि नै आफूमा भएको विद्रोही स्वभाव र बिस्तारै बढ्दै गएको आलोचनात्मक चेत लिएर रुस गएकोले ज्ञान, चेतना, सिप, दक्षता र वैचारिक प्रष्टता र जीवन जिउने कला पनि त्यसैअनुसार निर्माण भएको थियो । बस्तुलाई भौतिकवादी दृष्टिले हेरियो र विचारलाई आलोचनात्मक चेतका साथ परख गर्न सकियो भने कहिँ पनि गल्ती हुँदैन भन्ने उहाँको आफ्नै जीवनको अनुभवजन्य चेतना थियो । त्यसलाई उहाँले आफ्नो जीवनमा लागू गर्नुभयो र आम युवा, विद्यार्थी, राजनीतिकर्मी र बुद्धिजिवीहरूका बीच सम्प्रेषण गर्नुभयो ।
रुसमा अध्ययन गर्ने क्रममा उहाँले रुसी क्रान्ति (अक्टोवर क्रान्ति), समाजवादी सत्ता र तत्कालीन रुसले भोग्नुपरेको चुनौती, समस्या र समाधानका तौरतरिकालाई नजिकबाट बुझ्ने अवसर पाउनुभयो । बिस्तारै रुसी नेतृत्वमा भएको पूँजिवादको विकास, जनस्तरमा त्यसले पारेकोे प्रभाव र जनताको प्रतिक्रियालाई नजिकबाट बुझ्नुभयो । त्यसैगरी नेपालसँगै बिभिन्न देशवाट गएका विद्यार्थीहरूसँग अन्तक्र्रिया गर्ने अवसर प्राप्त गर्नुभयो । रुसमा भैरहेका कमजोरीहरू, सत्तासंचालनमा भएका गलत प्रयोगहरू, विकृति विसंगतिहरू र समाजवादको मूल मर्म, मान्यता र बाटोका विषयमा तुलनात्मक अध्ययन गर्दै बहस चलाउनुभयो । पछिल्लो चरणमा रुसले लिएको बाटो र समाजवादी बाटोका बीच फरक के हो भन्ने बहसको उठान गर्नुभयो । छात्रवृतिमा रुसमा अध्ययन गर्न गएका सबै विद्यार्थीहरूले रुसको स्तुति मात्रै गाउनुपर्दछ भन्ने मान्यतामा उहाँ रहनुभएन । किनकि उहाँ हरेक विषयलाई द्वन्द्वात्मक भौतिकवादी दृष्टिले हेर्नुहुन्थ्यो र आलोचनात्मक चेतका साथ निष्कर्ष निकाल्नुहुन्थ्यो ।
त्यतिबेला नेपालमा रुसी धारको प्रतिनिधित्व गरिरहेका राजनीतिक पार्टीका कार्यकर्ता र समर्थकहरू सजिलैसँग रुसमा अध्ययनको लागि जान सक्ने परिस्थिति थियो । तर पद्म खड्का प्रतिस्पर्धाबाटै छानिएर जानुभएको थियो । त्यसैले पनि उहाँले रुसको स्तुतिगान गर्नुभएन, गर्नुपरेन । रुसको समाज र त्यहाँ भैरहेको समाजवादको अभ्यासमा उहाँले तात्विक रुपमा फरक पाउनुभयो । त्यसकै आधारमा उहाँले समाजवादी क्रान्ति, समाजवादी सत्ता, सर्वहारा अधिनायकत्व वर्गसंघर्षको निरन्तरताको पक्षमा आफ्ना सहपाठीहरूबीच छलफल चलाउनुभयो । त्यहीँ अध्ययन गरिरहेकै बेलामा पनि आलोचनात्मक विश्लेषण राख्नुभयो ।
रुसबाट अध्ययन सकेर फर्किंदा उहाँ प्रखर समाजवादी विश्लेषक र कुशल इन्जिनियर भएर फर्कनुभयो । नेपाल फर्किएपछि उहाँ कामको खोजीमा लाग्नुभयो । त्यस सिलसिलामा उहाँ काम खोज्दै धेरै ठाउँ पुग्नुभयो । पछिसम्म पनि ‘पारिवारिक दायित्वको कारणले पनि मैले जागिर नखाइ नहुने अवस्था थियो’ भन्नुहुन्थ्यो उहाँ । कामको खोजी गर्दै गर्दा वन मन्त्रालय अन्तर्गतको निजामति कर्मचारीको रूपमा उहाँले अस्थायी जागिर पाउनुभयो ।
एउटा विद्रोही क्रान्तिकारीको रुपमा उहाँ ०४६ सालको आन्दोलनमा सक्रिय सहभागी बन्नुभएको थियो । जनआन्दोलनपछि उहाँले कर्मचारी आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्नुभयो । २०४८ सालमा भएको कर्मचारी आन्दोलनमा उहाँ कर्मचारीको अगुवाको रुपमा स्थापित भैसक्नु भएको थियो । सरकारका गलत कामहरूका विरुद्धमा आलोचनात्मक दृष्टिकोण राख्दै सरकारी कर्मचारी हुनुको नाताले उनीहरूका ट्रेड यूनियन अधिकारअन्तर्गतका सेवा, सुविधा र अधिकारको लागि उहाँले आन्दोलनलको नेतृत्व गर्नुभयो । सेवाग्राहीको सेवामा असर नपर्ने गरी सरकारलाई दवाब दिने ढङ्गले आन्दोलन अघि बढाउनुपर्छ भन्ने मान्यता उहाँ राख्नुहुन्थ्यो । कर्मचारीको आन्दोलनकै क्रममा २०४८ श्रावण १५ गते खोटाङमा मनोज जोशीले सहादत प्राप्त गर्नुभयो । कर्मचारीको आन्दोलनमा ऐक्यवद्धता जनाउनको लागि विद्यार्थीहरूले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा उहाँ मारिनुभयो । त्यसैगरी भुपेन्द्र कार्कीको पनि सहादत भयो । कर्मचारी आन्दोलन रक्तरञ्जित बन्यो । आन्दोलनमा स्वाभाविक रुपमा अन्य वर्ग, तह र तप्काको पनि समर्थन, सहयोग र ऐक्यवद्धता मिल्दै जाँदा सरकार कर्मचारीहरूसँग सम्झौता गर्न बाध्य भयो ।
कर्मचारी आन्दोलन चल्दै गर्दा सरकारले पद्म खड्कालगायतका केही अगुवा नेताहरूलाई ‘आन्दोलनको नाममा कर्मचारी भड्काएको’ अभियोग लगाएर जागिरबाट निस्कासन ग¥यो । त्यो निस्कासनको कारणले कर्मचारीहरू सरकार विरुद्धमा थप आन्दोलित बने । अन्ततः कर्मचारी आन्दोलनमा सरकार झुक्यो । आन्दोलन सफल हुँदै गर्दा उहाँ पहिलाको जागिरमा पुनर्बहाली हुने संभावना पनि थियो । पद्म खड्कालाई जागिरमा पुनर्बहाली गरिनुपर्छ भन्ने माग पनि कर्मचारीहरूले गरे । तर उहाँले पहिलाको जागिरमा पुनर्बहाली हुने रुचि देखाउनुभएन । ‘हिजो अप्ठ्यारो अबस्थामा जे काम पाए पनि गर्ने सोच अन्तर्गत मैले त्यो जागिर खाएको थिएँ, आज फेरी म त्यही जागिरमा फर्कनुपर्छ भन्ने छैन’ भन्दै उहाँ पहिलाको जागिरमा पुनर्बहाली हुन मान्नुभएन । त्यसपछिको केही समय उहाँ राजनीतिक आन्दोलनमा नै क्रियाशिल रहनुभयो । वैचारिक राजनीतिक काम र प्राज्ञिक कामलाई उहाँले सँगसँगै अघि बढाउनुभयो । कम्युनिष्ट आन्दोलनले मात्र मुलुक र जनताको सेवा गर्न सक्छ भन्ने उहाँको दृष्टिकोण थियो ।
पछि इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकमा उहाँले प्राध्यापनको काम पाउनुभयो । यसले उहाँलाई आफूसँग भएको ज्ञान, चेतना एउटा प्राध्यापकको रूपमा विद्यार्थीहरूको बीचमा संप्रेषण गर्ने अवसर प्राप्त भयो । बौद्धिकहरूको बीचमा अन्तरसंवाद, छलफल गर्ने थलोको रुपमा उहाँले त्यसको भरपुर उपयोग गर्नुभयो । उहाँमा दार्शनिक एवं वैचारिक राजनीतिक प्रष्टता त थियो नै आफ्नो विषयमा पनि उहाँ अब्बल दर्जाको शिक्षक हुनुहुन्थ्यो । त्यसमाथि उच्च नैतिक आचरण, मिलनसार स्वभाव र सरल व्यवहारका कारणले उहाँ प्राध्यापकहरूको बीचमा छोटो समयमै लोकप्रिय बन्नुभयो । प्राध्यापकहरूको नेतृत्वदायी संगठन प्रगतिशील प्राध्यापक संगठनको पनि उहाँले नेतृत्व गर्नुभयो ।
वैचारिक आस्थाको हिसावले उहाँ तत्कालीन नेकपा (चौथो महाधिवेशन) हुँदै नेकपा (एकताकेन्द्र) मा संगठित हुनुहुन्थ्यो । पार्टीको आवश्यकताअनुसार उहाँले धेरै ठाउँमा वैचारिक, राजनीतिक प्रशिक्षण दिनुभयो । पार्टीका स्कुलिङ्मा उहाँ लगातार जोडिनुभयो । पार्टीका विभिन्न स्तरका पाठ्यक्रम निर्माण गर्ने, विभिन्न तहका पार्टीका कार्यकर्ता एवं जवसका नेता कार्यकर्ताका बीचमा छलफल र प्रशिक्षण चलाउने कामको लागि मेचीदेखि महाकालीसम्म उहाँ पुग्नुभयो । पार्टीले त्यहीअनुसारको जिम्मेवारी उहाँलाई दियो । पार्टी, जवस मोर्चा र अन्य फोरमहरूमा पनि उहाँ वैचारिक काममा सक्रिय रहँदै आउनुभयो ।
उहाँको यस्तै सक्रियताकै बीच मेरो उहाँसँग चिनजान भयो । हामी पनि विद्यार्थी राजनीतिमा रहेर उस्तै ढंगले वैचारिक, राजनीतिक छलफल चलाउँदै थियौं । परिवर्तित सन्दर्भमा युवाहरूलाई संगठित गर्नुपर्छ भन्ने नीति पार्टीले लियो । हामीले २०४७ असारमा अखिल नेपाल जनवादी युवा लीगको गठन ग¥यौं । २०४७ पछि युवा लीगमार्फत् युवाहरूलाई वैचारिक, राजनीतिक ढंगले संगठित गर्ने क्रम तिब्र भयो । ‘युवाहरूको बाटो कुलत र दुव्र्यसन होइन, संगठन, चेतना र राष्ट्रनिर्माण हो’ भन्ने सन्देश सहितका युवा लीगका कार्यक्रमहरूसँग पद्म खड्का पनि जोडिनुभयो । गिरिराजमणि पोखरेल युवा लीगको संयोजक हुनुहुन्थ्यो । उहाँको नेतृत्वमा पद्म खड्कासहित हामी सबै युवा लीगको अभियानमा जोडियौं । के युवा, के बुद्धिजीवी हामी सबै एकै ठाउँमा रहेर पार्टीको वैचारिक, राजनीतिक कामलाई अघि बढायौं ।
२०५२ सालमा पार्टीले प्रगतिशील बुद्धिजीवी संगठन स्थापना गर्ने निर्णय ग¥यो । हामीले परिवर्तनकामी युवा, प्रगतिशील प्राध्यापक, शिक्षक, कर्मचारी, बौद्धिक व्यक्तित्वहरूको भेला ग¥यौं । त्यो भेलाले सर्वसम्मत रुपमा पद्म खड्कालाई प्रगतिशील बुद्धिजीवी संगठनको संयोजकमा चयन ग¥यो । संयोजक भएपछि उहाँले सफलतम नेतृत्वको रुपमा आफ्नो भूमिका निर्वाह गर्न थाल्नुभयो । म पनि बुद्धिजीवी संगठनको सदस्य थिएँ । प्रगतिशील बुद्धिजीवी संगठनको नेतृत्वको हिसावले, कार्यक्रमिक योजनाको हिसाबले उहाँले त्यतिबेला जुन भूमिका निर्वाह गर्नुभयो, त्यो नै उहाँको व्यक्तित्वको मूल पक्ष हो भन्ने मलाई लाग्छ ।
पद्म खड्का वैचारिक राजनीतिक रुपमा एउटा क्रान्तिकारी व्यक्ति हुनुहुन्थ्यो । उहाँ समाजलाई रुपान्तरण गर्नको लागि आधारभूत वर्गमा पार्टीलाई स्थापित गर्नुपर्दछ, जनतालाई उद्धेलित गर्न सक्नुपर्दछ । जनताका आवश्यकता, जनताका माग, चाहना र भावनालाई संवोधन गर्ने प्रकारले पार्टीका योजना, नीति र कार्यक्रमहरू बनाउनुपर्दछ । सतही प्रकारका नीति कार्यक्रमले जनतालाई छुन सक्दैन । जनताका बीचमा जानसक्ने गरी पार्टी बन्न सक्दैन । सिद्धान्तका विषयहरू रटान गरेर मात्रै पार्टी बनाउने कुरा गरियो भने त्यो वैचारिक बहस गर्ने चौतारी त बन्न सक्छ, तर एउटा कामकाजी, क्रान्तिकारी पार्टी बन्न सक्दैन भन्ने मान्यता उहाँ राख्नुहुन्थ्यो । क्रान्तिकारी पार्टी त्यतिबेला मात्रै बन्न सक्छ जतिबेला श्रममा जुटिरहेका जनता पनि आफ्नो आस्था, विश्वाससहित त्यसमा जोडिन आइपुग्छन् । पार्टीका नेता कार्यकर्ताहरूको आचरण, व्यवहार र क्रियाकलापहरू जनताको विश्वास जित्न सक्ने खालको हुनुपर्दछ भन्ने मान्यताका साथ उहाँ पार्टीलाई प्रशिक्षित गर्नुहुन्थ्यो ।
पद्म खड्काको नेतृत्व कुशलताको कारणले छोटो समयमा नै प्रगतिशील बुद्धिजीवी संगठनले रचनात्मक रुपमा बुद्धिजीवीहरूको नेतृत्व गर्ने स्थिति सिर्जना भयो । लामो समयदेखि स्थापित भएका बुद्धिजीवीहरूका थुप्रै संगठनहरूलाई पछि पार्दै प्रगतिशील बुद्धिजीवी संगठन स्थापित भयो । पुराना संगठनहरूको वैचारिक अस्पष्टता, अन्यौल र ढुलमुले प्रवृतिका कारणले उनीहरू दिग्भ्रमित थिए । त्यस्तो परिस्थितिको बीचबाट प्रगतिशील बुद्धिजीवी संगठन छोटो समयमै स्थापित हुनुको कारण पद्म खड्काको उपस्थिति र उहाँको कुशल नेतृत्व थियो । प्रष्ट राजनीतिक, वैचारिक दृष्टिकोण, कुशल नेतृत्व र समर्पित र प्रतिवद्ध कार्यशैली र नैतिक आचरण र व्यवहारको कारणले पनि त्यसप्रकारको स्थिति सिर्जना भएको हामी पाउँछौं ।
२०५१ सालमा हाम्रो पार्टी नेकपा (एकताकेन्द्र) विभाजित भयो । एउटा पक्ष नेकपा (माओवादी) को नाममा जनयुद्धको तयारीमा जुट्यो । हामी नेकपा (एकताकेन्द्र) लाई नै सुदृढ बनाउने अभियानमा थियौं । पार्टी संरचनाको हिसावले ठूलो पङ्क्तिले हामीलाई विश्वास गर्ने अबस्था त थियो । तर वैचारिक–राजनीतिक क्षेत्रमा काम गर्ने, दार्शनिक क्षेत्रमा योगदान दिन सक्ने गरी सुदृढ नेता कार्यकर्ताको टिम थिएन । त्यसप्रकारको टिम निर्माणको लागि वैचारिक–राजनीतिक रुपमा प्रष्ट भएको पूर्णकालीन कार्यकर्ताको डफ्फा निर्माण गर्ने, योजनावद्ध रुपमा संगठन सुदृढिकरणको अभियान सञ्चालन गर्ने, वैचारिक कामलाई पनि उत्तिकै महत्वका साथ अगाडी वढाउने र युद्धस्तरमा खट्ने गरी पार्टीले योजना बनायो । सबैले आ आफ्नो ठाउँबाट पार्टी, क्रान्ति, देश र जनताको पक्षमा खट्ने निर्णय भयो । पद्म खड्का आफ्नो पेशागत कर्म, वौद्धिक क्षेत्रको काम सँगसँगै पार्टीको यो अभियानमा पनि जोडिनुभयो ।
छरिएर रहेका युवा पङ्क्तिलाई समेटेर अघि बढ्दै गर्दा समसामयिक राजनीतिमा उठेका बहसमा भाग लिंदै आम जनता र वौद्धिक समुदायसम्म पार्टीलाई पु¥याउनको लागि हामीलाई एउटा वैचारिक पत्रिकाको आवश्यकता महसुस भयो । साप्ताहिक पत्रिकाको रुपमा जनएकता साप्ताहिक निकाल्ने निर्णय भयो । त्यसमा पनि पद्म खड्का प्रारम्भदेखि नै जोडिनुभयो ।
जनएकता साप्ताहिकको वैचारिक, राजनीतिक धाराको सुस्पष्टताको लागि सम्पादक टिममै रहेर उहाँले जसरी काम गर्नुभयो, त्यसले छोटो समयमै नेपालको बामपन्थी आन्दोलनमा, नेपालको कम्युनिष्ट आन्दोलनमा, बौद्धिक समुदायमा, आम जनसमुदायकाबीचमा जनएकता साप्ताहिक स्थापित भयो । संयोग, आवश्यकता र रुची तीनै कारणले म पनि प्रारम्भदेखि नै जनएकता साप्ताहिकमा जोडिन पुगें । जनएकतामार्फत् विचार प्रवाह गर्ने सन्दर्भमा व्यापक छलफल, विचार विमर्श हुन थाल्यो । छलफलपछि यो विषयलाई यसरी सम्प्रेषण गर्ने, यसलाई यसरी गर्ने भन्ने निष्कर्षमा हामी पुग्थ्यौं । पद्म खड्का सामान्य विषयहरूलाई पनि स्थापित मूल्य, मान्यताका साथ वैचारिक बहसको विषय बनाउन सक्नुहुन्थ्यो । त्यो उहाँमा रहेको वैचारिक क्षमता र प्रष्टताको संकेत थियो ।
जनएकता साप्ताहिकमा काम गरिरहँदा म विद्यार्थी संगठनको नेतृत्वमा पनि थिएँ । उहाँ पनि आफ्नो प्राध्यापन पेशासँग जोडिंदै वैचारिक राजनीतिक क्षेत्रबाट जनएकतालाई सहयोग गरिरहनुभएको थियो । २०५६ सालमा जनएकता साप्ताहिकको कार्यकारी सम्पादकको रुपमा मैले जिम्मेवारी सम्हालें । त्यस अघि गिरिराजमणि पोखरेल, निनु चापागाईं, आहुति, घनश्याम शर्मा पौडेल सहितको कोर टिममा पद्म खड्का जसरी सहभागी हुनुहुन्थ्यो, पछिल्ला दिनहरूमा पनि उहाँ उत्तिकै सक्रिय सहभागी बन्नुभयो । युवा लीगमा बाहिरबाट गरेको योगदान र सहकार्य, प्रगतिशील बुद्धिजीवी संगठनको नेतृत्व टिममा रहेर गरेको सहकार्य, जनएकता साप्ताहिकमै अघिल्लो चरणको सहभागिता मूलक सहकार्य र पछिल्लो चरणमा म आफैंले त्यसको नेतृत्व (कार्यकारी सम्पादक) लिएर गर्दाको सहकार्यमा पद्म खड्कासँगको सहकार्यमा कहीँ कतै खोट लगाउने ठाउँ उहाँले छोड्नु भएन ।
जनएकता मिसन पत्रकारिताअन्तर्गतको पार्टी पत्रिका पनि भएकोले त्यसका आफ्नै खाले जटिलता, समस्या र चुनौती थिए । व्यवसायिक पत्रकारिताको अभ्यास मात्रैले त्यसको हल हुँदैनथ्यो । चुनौती सामना गर्न र समस्या हल गर्न बहु आयामिक प्रयत्न, प्रतिवद्धता, समर्पण र प्रष्टता चाहिन्थ्यो । हामी त्यही स्पीरिटमा त्यहाँ जुटेका थियौं ।
जनएकता साप्ताहिक सञ्चालन गर्ने टिममा प्रत्यक्ष रुपमा जोडिएर मैले जति काम गरें, त्यही ढंगले त्यसको व्यवस्थापन, वैचारिक नेतृत्व, सम्पादक टिममै बसेर पद्म खड्काले पनि गर्नुभयो । जनएकता साप्ताहिकलाई स्थापित गर्न, पत्रिकालाई पार्टीको योजना मुताविक अघि वढाउन, समसामयिक विषयमा वैचारिक बहस सञ्चालन गर्न, नेपालको बामपन्थी आन्दोलनलाई ठिक दिशा निर्देश गर्न उहाँ र मैले एउटै टिममा बसेर जुन काम ग¥यौं, त्यो नै उहाँ र मेराबीचको सहकार्यको महत्वपूर्ण पाटो हो भन्ने मलाई लाग्छ ।
जनएकतामा उहाँ विभिन्न नामबाट लेखहरू लेख्नुहुन्थ्यो । नविन शर्मा उहाँको पार्टीको टेक नाम थियो । पार्टी पङ्तिमा उहाँ त्यही नामले चिनिनुहुन्थ्यो । त्यसैले पार्टी पङक्तितले बुझ्नु पर्ने वैचारिक लेख रचना नविन शर्माको नाममा लेख्नुहुन्थ्यो । त्यसै नामबाट माक्र्सवादी शास्त्रीय रचना र सैद्धान्तिक लेख लेखेर बौद्धिक समुदायका बीच वैचारिक राजनीतिक बहस सञ्चालन गर्नुहुन्थ्यो । समकालीन राजनीतिमा उठेका भ्रमहरू चिर्न, दिशा निर्देश गर्न, त्यतिबेलाका द्वन्द्वरत पक्षहरूको अन्तरसम्बन्धहरू केलाउँदै उनीहरूलाई जनताको पक्षमा उभिन आग्रह गर्दै लेख्दा र प्राज्ञिक तहबाट बहस अघि वढाउनु पर्दा उहाँ पद्म खड्काको नाममा लेख्नुहुन्थ्यो । राजनीतिक, वैचारिक रुपमा दिशा निर्देश गर्ने प्रकारका समकालीन, समसामयिक राजनीतिक लेखहरू उहाँ पि. खड्काको नाममा लेख्नुहुन्थ्यो । यसका साथै कयौं महत्वपूर्ण विषयमा उहाँले सम्पादकीय लेख्नुभयो । उहाँको यस्तै भूमिका र वैचारिक राजनीतिक पक्ष, समाचारको सत्यता, निस्पक्षता, दिशा निर्देश गर्ने सम्पादकीय जस्ता विषयवस्तुका कारण जनएकता छोटो समयमै आम पाठक र बौद्धिकहरूका बीचमा लोकप्रिय पत्रिका बन्न सफल भयो ।
पद्म खड्का व्यवहार कुशल त हुनुहुन्थ्यो नै, साथै समयको मूल्य र महत्वको पनि उहाँ उत्तिकै ख्याल गर्नुहुन्थ्यो । समयले हामीलाई पर्खिंदैन, समयको महत्वलाई हामीले सामान्य ढंगले लिनुहुँदैन भन्नेमा उहाँ प्रष्ट हुनुहुन्थ्यो । कुनै पनि औपचारिक, अनौपचारिक भेटघाट, मिटिङ, छलफल, भेला जस्ता कार्यक्रममा एकजनालाई धेरै मानिसले कुर्नु भनेको गलत परिपाटी हो भन्ने उहाँको विचार थियो । एक जनाले धेरै मानिसको थोरै समय बर्बाद गर्दा पनि ठूलो समय बर्वाद हुन्छ भन्ने कोणबाट उहाँ समयको महत्वलाई परिभाषित गर्नुुहुन्थ्यो ।
सबै काम ठिक समयमा हुनुपर्दछ र तोकिएको समयमा आफ्नो जिम्मेवारी पूरा गरिसक्नुपर्दछ भनेर उहाँ साथीहरूलाई बुझाउनुहुन्थ्यो । समयमै काम सक्न हामीले आफ्ना बानीबेहोरामा सुधार गर्नुपर्दछ । हामीले जसरी समयको महत्वलाई कम आँकेर ‘नेपाली समय’ भन्दै जे कुरामा पनि ढिला गर्ने प्रवृतिलाई क्षम्य बनाई रहेका छौं, यो गलत हो । यो नेपाली संस्कृति होइन, कम्युनिष्ट संस्कृति त झनै होइन । बोल्सेभिक आचरण, संस्कृति र संस्कार त झन् यो हुनै सक्दैन, भन्नुहुन्थ्यो । समयलाई ठिक ढंगले संयोजन गर्न सक्ने, त्यसको व्यवस्थापन गर्न सक्ने, कुशलताका साथ त्यसलाई कार्यान्वयनमा लैजानसक्ने क्षमता बोल्सेभिकहरूको मूल विशेषता हो, यो विशेषतालाई हामी सबैले आत्मसात गर्नुपर्दछ भन्ने उहाँको स्पीरिट थियो ।
रुस पछिल्लो चरणमा वैचारिक राजनीतिक रुपमा विचलित भैरहेको थियो तापनि शितयुद्धकालीन अबस्थामा पनि अन्य देशहरूसँग टक्कर लिंदै साम्राज्यवादसँग लड्न सक्ने स्थिति रुसको थियो । एउटा प्रतिध्रुवीय शक्तिको रुपमा स्थापित हुनको लागि रुसले बोल्सेभिक स्पीरिटलाई कायम गरिराखेको थियो र त्यसका कारणले नै उसले साम्राज्यवादसँग लड्न सक्यो । आफ्नो वैचारिक – राजनैतिक एवं दार्शनिक धरातलीय स्थिति परिवर्तन गरेर पूँजिवादीकरणको दिशामा गैरहदा पनि बोल्सेभिक पार्टीको व्यवस्थापन पक्षलाई आत्मसात गरेर रुसी सामाजिक साम्राज्यवादले अमेरिकी साम्राज्यवादसँग टक्कर लिंन सकेको हो भन्ने उहाँको सटिक विश्लेषण थियो । छद्म पूँजिवाद र नांगो पूँजिवाद हुँदै सामाजिक साम्राज्यवादको रुपमा पतन भएको रुसले समयको व्यवस्थापनलाई जसरी अघि वढायो, त्यो नै शक्ति केन्द्रका रुपमा रुसले आफूलाई उभ्याउन सक्नुको मूल कारण हो भन्ने निष्कर्ष उहाँले निकाल्नु भएको थियो ।
रुसमा भएको समाजवादको विकास, त्यसको प्रयोग, पछिल्लो चरणमा समाजवादबाट रुस विमुख हुँदै गर्दाको अबस्था, रुसी अर्थतन्त्र, उत्पादन सम्बन्ध र वितरण सम्बन्धहरूलाई केलाउँदै उहाँ कम्युनिस्ट पार्टीको बोल्सेभिकीकरण, संगठनको सुदृढीकरण र व्यवहारमा त्यसको सही प्रयोग यतिबेलाको समाजवादी क्रान्तिको लागि मुख्य पक्ष हो भन्नुहुन्थ्यो । त्यसैले सैद्धान्तिक, राजनीतिक रुपमा हामी जति स्पष्ट हुन्छौं, व्यवहार कुशल हुन्छौं, त्यति नै कम्युनिष्ट आन्दोलन अघि वढ्छ । त्यसमा अन्तर्विरोध देखिने खालका व्यवहार, आचरण हामीबाट हुन्छन् भने हामी कम्युनिष्ट हुन सक्दैनौं भन्ने उहाँको विचारको सार हुने गर्दथ्यो । गरिखाने वर्ग, समुदायको नेतृत्व गर्दा, लेख रचनाहरू लेख्दा, त्यस खालको सन्दर्भ सामग्रीहरू निर्माण गर्दा र वैचारिक राजनीतिक क्षेत्रबाट खेलिएका भूमिकाहरूलाई हेर्दा हामी उहाँलाई त्यहि खालको व्यवहार गरिरहेको व्यक्तित्वको रुपमा पाउँछौं ।
‘सादा जीवन, उच्च विचार’ भन्ने भनाईलाई नाराको रुपमा विभिन्न सन्दर्भमा मान्छेहरू प्रस्तुत गरिरहेका हुन्छन् । तर त्यसलाई आफ्नै व्यवहारमा थोरैले मात्र लागू गर्छन् । त्यस्तै थोरै मानिसहरूमा पद्म खड्का पनि पर्नुहुन्थ्यो । कतिपय मान्छेहरू ‘मैले यो काम गर्नुहुन्छ, यो काम गर्नुहुँदैन’ भन्ने ढंगले कामलाई विभाजित गर्ने र काम गर्ने मानिसलाई हेयको दृष्टिले हेर्ने गर्छन् । तर पद्म खड्का सानातिना काम पनि त्यति नै मेहनतका साथ गर्नुहुन्थ्यो । सानातिना कामलाई पनि उहाँ प्राथमिकतामा राखेर कार्य सम्पादन गर्नुहुन्थ्यो ।
वैचारिक राजनीतिक क्षेत्रको काममा मात्र होइन, शारीरिक श्रमको काम, आर्थिक एवं भौतिक पक्षसँग जोडिएका काममा पनि उहाँ दत्तचित्त भएर लाग्नुहुन्थ्यो । यो आधारमा उहाँ एउटा इमान्दार दार्शनिक व्यक्ति हुनुहुन्थ्यो । तर नेतृत्वको हिसाबले राजनीतिक नेताको रुपमा उहाँले कहिल्यै आफ्नो पहिचान बनाउनतिर लाग्नुभएन । कुनै राजनैतिक नियुक्तिका पदहरूमा जानको लागि प्राज्ञिक र बौद्धिक भनिने कयौं व्यक्तिहरूले गरेजस्तो पार्टीका नेता, मन्त्री, प्रधानमन्त्रीको ढोका ढकढक्याउने काम उहाँले कहिल्यै गर्नुभएन ।
दार्शनिक रुपमा उहाँमा जुन खालको स्पष्टता थियो, व्यवहारमा जुन कुशलता थियो, त्यसको संयोजन र अन्तर सम्बन्धहरूलाई उहाँले जुन ढंगले बुझ्नुभएको थियो, त्यो स्पिरिटका साथ उहाँ राजनीतिक आन्दोलनको नेतृत्व तहमा आउनुपर्दछ भन्ने आवाज पनि साथीहरूबाट बेलाबेलामा उठ्ने गर्दथ्यो । राजनीतिक रुपमै पूर्णकालिन कार्यकर्ता बनेर तपाईंले आन्दोलनको नेतृत्व लिनुपर्दछ भनेर उहाँसँग पटक पटक छलफल र बहस पनि नभएका होइनन् । तर उहाँले आफूलाई सक्रिय राजनैतिक नेताका रुपमा उभ्याउनुभएन । सक्रिय राजनैतिक कार्यकर्ताको दृष्टिले हेर्दा यो उहाँको कमजोर पक्ष हो भन्न सकिन्छ ।
एउटा पार्टी निर्माण गर्न मूलभूत रुपमा त्यसको दार्शनिक पक्ष, राजनीतिक पक्ष, त्यसले लिने कार्यनीति र संगठनात्मक पक्ष जरुरी हुन्छ । त्यसबाट मात्रै एउटा सक्षम, बोल्सेविक र जनस्थापित पार्टी बन्न सक्छ । रुसमा लेनिनले यिनै पक्षहरूलाई ख्याल गरेर पार्टी निर्माण गर्नुभयो । पार्टीलाई बोल्सेभिकीकरण गर्नुभयो । त्यसकै कारणले पूँजिवादको विकासमा सापेक्षिक रुपमा पछाडि परेको देश हुँदाहुँदै पनि रुस समाजवादी क्रान्तिको दिशामा अघि वढ्न सक्यो । रुसमा समाजवादी क्रान्ति भयो । माक्र्सले पूँजिवादको सबैभन्दा राम्रो विकास भएका ठाउँमा पहिले समाजवादी क्रान्ति हुन्छ भन्नुभएको थियो । तर त्यस विपरित रुसमा पूँजिवादको सापेक्ष विकास नहुँदै समाजवादी क्रान्ति हुन सक्नुको मूल कारण लेनिनको कार्यकुशलता थियो । समाजवादी अभियानमा, पार्टी निर्माणको अभियानमा लेनिन सफल भएकैले रुसमा समाजवादी क्रान्ति सम्पन्न भयो । त्यसको संयोजन हामीले गर्न सक्यौं भने समाजवादी क्रान्ति सम्पन्न हुन सक्छ भन्ने मान्यतामा पद्म खड्का दृढ हुनुहुन्थ्यो ।
पार्टी निर्माण, विस्तार र सुदृढीकरणको लागि पूर्णकालिन कार्यकर्ताको महत्व र उपादेयता अत्यन्तै ठूलो हुन्छ । पार्टी र संगठनमा त्यस्ता कार्यकर्ताको उच्च स्थान हुन्छ । हामीले पनि त्यस्ता नेता कार्यकर्तालाई उच्च सम्मान गर्नुपर्छ । साथै पूर्णकालिन कार्यकर्ताहरू वैचारिक राजनीतिक रुपमा एउटा स्तरका नेता हुन् । तर सबै पार्टी र क्रान्तिमा नेता कार्यकर्ताहरू पूर्णकालिन कार्यकर्ता हुनैपर्ने र पूर्णकालिन कार्यकर्ताहरू वैचारिक राजनीतिक, दार्शनिक, सामाजिक, सांस्कृति रुपमा उन्नत स्तरको हुनैपर्ने भन्ने विषयलाई एउटै रुपमा बुझ्नुहुँदैन भन्ने मान्यता उहाँको थियो । हरेक नेता कार्यकर्तालाई बौद्धिकताको कसीबाट मापन गर्ने कुराको उहाँ सँधै विरोधी हुनुहुन्थ्यो ।
उहाँले बौद्धिक रुपमा आफूलाई जुन स्थानमा उभ्याउनु भएको थियो, त्यसमा दम्भ, अहंकार, घमण्ड कहिं पनि देखिंदैनथ्यो । विनम्रता उहाँको जीवनको महत्वपूर्ण पक्ष थियो । जनतालाई सचेत पार्ने, संगठित गर्ने, कार्यकर्ताहरूलाई व्यवस्थित ढंगले योजनावद्ध परिचालन गर्ने, जनतासँग जोडिएर पार्टी÷संगठन निर्माण गर्ने विषय उहाँको सधंै प्राथमिक चासोको बिषय हुने गर्दथ्यो । उहाँमा वैचारिक राजनीतिक रुपमा प्रष्टता थियो । उहाँ संगठनात्मक रुपमा जनतालाई गोलबन्ध गर्दै सुदृढ संगठन निर्माण गर्नको लागि प्रेरणाको श्रोत हुनुहुन्थ्यो । त्यसैगरी नैतिक आचरण, व्यवहार कार्यकुशलताको हिसाबले पनि उहाँ एउटा प्रेरणादायी व्यक्तित्व हुनुहुन्थ्यो ।
उहाँको सन्दर्भमा थुप्रै स्मरणात्मक घटना र प्रसंग छन् । ती सबै उल्लेख गर्दा आलेख लामो बन्न सक्छ । म यहाँ उहाँसँग जोडिएका केही विषय वा प्रसंगको मात्र उल्लेख गर्न चाहन्छु ।
एक दिन हामी केही युवा विद्यार्थी साथीहरूले उहाँसँग अन्तर संवाद, छलफलको लागि एउटा समय तय गरेर एक ठाउँमा भेला हुँदै थियौं । पूर्व निर्धारित समयमै उहाँ कार्यक्रम स्थलमा पुग्नुभएको रहेछ । आयोजक साथीहरू केही उपस्थित भैसक्नुभएको थियो । तर मूल साथीहरू निर्धारित समयमा आइपुग्नु भएको थिएन । ढिला गरी कार्यक्रममा उपस्थित भएका आयोजक मध्येका साथीलाई उहाँले आफू भएको ठाउँमा बोलाएर तपाईंको हात हेरौं त भन्नुभयो । ती साथीको हातमा घडी थियो । घडीलाई देखाउँदै उहाँले सोध्नुभयो, यो के हो ? ढिला भएकोमा साथीलाई ग्लानी भैसकेको थियो । प्रश्नले उहाँ थप गंभीर बन्नुभयो । त्यसपछि उहाँले घडी, समय, समयबोध र ठिक समयमा निर्धारित स्थानमा पुगेर निर्धारित काम गर्ने बारे एउटा प्रशिक्षण नै दिनुभयो ।
तपाईंले लगाउने घडी सौन्दर्य साधन वा विलाशिताको वस्तु होइन । महिलाहरूले हातमा लगाउने चुरा वा बाला र तपाईंले लगाएको यो घडीमा फरक छ । यदि यो चुरा हो भने घडी भन्नुभएन । घडी हो भने चुराको स्थानमा राख्नुभएन । घडीले घडीको काम गर्नुप¥यो । घडी लगाउने हो भने त्यसको उपयोग पनि गर्नुप¥यो समयको ख्याल गर्नुप¥यो । घडी समय थाहा पाउन, ठिक समयमा आफ्नो जिम्मेवारी पूरा गर्नको लागि लगाईन्छ । घडीले आफैं समय बताउने होइन, हामी आफैंले निर्धारण गरेको आधारमा घडीले समय बताउने हो । त्यो निर्धारण गरेको समयलाई नबिर्सौं भनेर हामीले घडी लगाउने हो भनेर सम्झाउनुभयो । त्यो कार्यक्रममा उहाँले समयको महत्वलाई घडीका माध्यमबाट बुझाउनुभयो । सामान्य वस्तु र घटनालाई केन्द्रीत गरेर ठूलो सैद्धान्तिक प्रशिक्षण चलाउनुभयो ।
त्यहाँ उहाँले सांकेतिक रुपमा घडीलाई लिएर हाम्रो ढिलाढाला बानी र नेपाली समयप्रति कटाक्ष गर्दै जे कुरा गर्नुभएको थियो त्यसले कार्यक्रमका सहभागीहरूलाई समयको महत्वको बारेमा राम्रैसँग प्रशिक्षित गरेको थियो । त्यो उहाँको आयोजक साथीहरू नै समयमा कार्यक्रममा नआउने प्रवृतिप्रतिको तिखो प्रहार पनि थियो ।
भौतिक साधन र प्रविधि मान्छेले आफ्नो सजिलो र सुविधाको लागि निर्माण गरेका वस्तुहरू हुन् । मान्छे भन्दा माथि प्रविधि वा भौतिक साधन हुँदैन । मान्छेले भौतिक साधन र प्रविधिहरूमाथि शासन गर्न सक्नुपर्दछ । समाजवाद भनेको त्यहि हो । आजको समाजमा वस्तु, सेवा र सुविधा कम छ । प्रविधि कमजोर छ । त्यसकारण सम्पूर्ण रुपमा मान्छेको जीवनलाई धान्न सक्नेगरी प्रचुर मात्रामा वस्तु र सेवाको उत्पादन भएको छैन ।
प्रविधिको विकास गर्दै उत्पादनमा बृद्धि गर्ने र वस्तु उत्पादनको सीमिततालाई भत्काएर आवश्यकताको आधारमा पर्याप्त उत्पादन गर्नु आजको हाम्रो चुनौती होे । यो पूँजीवादको समस्या हो । त्यो चुनौतीलाई सामना गरेर पर्याप्त उत्पादन गर्नु र न्यायोचित वितरण गर्नु नै समाजवाद हो । उत्पादन र न्यायोचित वितरणबीचको असमानताको अन्त्य र उत्पादित वस्तु र सेवामा जनताको सहज पहुँच र पर्याप्तता नै समाजवाद हो । समाजवाद भनेको अरु केही नभएर उत्पादनमा प्रचुरता र वितरणमा समानता हो । त्यही प्रचुर उत्पादन र न्यायोचित वितरणको लागि समय, वस्तु र उत्पादन प्रणालीलाई एकीकृत ढंगले परिचालन गर्न सक्ने गरी सत्ता र समाजको निर्माणको लागि समाजवादी क्रान्ति गर्नुपरेको हो भन्दै सरल ढंगले उहाँ क्रान्तिको रणनीति र कार्यनीतिलाई बुझाउनुहुन्थ्यो । यो उहाँको मौलिक प्रशिक्षण विधि हो ।
एउटा वर्ग विशेषले सञ्चालन गरिरहेको उत्पादनसम्बन्ध, सामाजिक सम्बन्ध र शासनसत्ता वर्गीय रुपमै अर्को वर्ग विशेषको हातमा आउन वर्गसंघर्ष आवश्यक पर्दछ । वर्गसंघर्षले स्थापित गरेको, समाजवादी मूल्यमान्यतामा आधारित भएर स्थापित भएको शासनसत्ताले अर्को वर्गमाथि अधिनायकत्व संचालन गर्नुपर्ने स्थिति आउँदछ, त्यो क्षणिक हो । मूल कुरा वस्तु र सेवाको प्रचुर उत्पादन र न्यायोचित वितरण प्रणाली नै हो । समाजले नै त्यसको व्यवस्थापन गर्ने, समाजले नै त्यसको नियन्त्रण गर्ने, समाजले नै त्यसको अन्तर सम्बन्धहरूको जटिलता र समस्या हल गर्ने गरी समाजलाई समाजवादीकरण गर्नु साम्यवादी (कम्युनिस्ट) हरूको ध्येय हो । त्यहाँ सत्ता, अधिनायकत्व र शासन प्रणाली प्रधान हुँदैन भनेर सरल रुपमा उहाँले राख्नुहुन्थ्यो ।
सत्तालाई समाजवादीकरण गर्ने होइन । सत्ता क्षणिक हो । एउटा वर्गले अर्को वर्गमाथि अधिनायकत्व कायम गर्नुपर्ने आवश्यकता रहुन्जेलसम्म मात्रै सत्ता सत्ताको रुपमा रहन्छ । त्यसैले मूल कुरा सत्ता होइन, समाज हो । समाजको सामाजिक संरचनामा परिवर्तन, समानता, न्यायोचित वितरण प्रणाली र उत्पादनमा सबैको सहभागिता समाजवाद हो भन्ने मान्यताका साथ उहाँले आफ्ना विचारहरू राख्नुहुन्थ्यो । पार्टी पङ्तिलाई प्रशिक्षित गर्नुहुन्थ्यो । उहाँले सम्प्रेषण गर्ने यिनै विचारहरूको वरपर रहेर उहाँलाई सम्झन सकियो, उहाँको विचारलाई अनुकरण गर्न सकियो भने मात्रै उहाँलाई सम्झनुको सार्थकता हुनेछ । सार्थक सम्झना, प्यारो साथी पद्म खड्का !! अल विदा क. नविन शर्मा !!
हरिहरभवन, ललितपुर
२९ फाल्गुण, २०७३

( तत्कालीन ने.क.पा.एकताकेन्द्रसँग सम्बद्ध डि.आर.पौडेल जनएकताका पूर्व सम्पादक हुनुहुन्छ । प्रगतिशील बुद्धिजीवी सङ्गठनका केन्द्रीय सदस्यसमेत रहनुभएका पौडेल पार्टी एकतापछि हाल ने.क.पा.माओवादीकेन्द्रसँग सम्बद्ध धनीराम पौडेल समानुपातिक तर्फबाट सभासद तथा प्रचण्ड नेतृत्वको सरकारमा शिक्षामन्त्री हुनुहुन्थ्यो ।) ०००