नेपाली समय:
Flash News

मकवानपुर महासंघको जिल्ला सम्मेलन फागुन १२ गते

माघ २६, मकवानपुर, अखिल नेपाल ट्रेड युनियन महासंघ जिल्ला समन्वय समिति मकवानपुरको बैठक अध्यक्ष गंगाप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले फागुन १२ गते जिल्ला सम्मेलन सम्पन्न गर्नको लागि पेसागत घटक संघहरुको जिल्ला सम्मेलनहरु र स्थानीय निकायको सवै तहमा महासंघको समितिहरु गठन गरिसक्ने निर्णय गरेको छ ।
बैठकले फागुन १ गतेका दिन महान जनयुद्ध दिवस, फागुन ११ गतेका दिन मजदुर बलिदान दिवस भव्यताका साथ मनाउने निर्णय गर्नुका साथै महानगर तथा उपमहानगरपालिका र गाउँपालिकाहरुमा सामाजिक सुरक्षा ऐनको कार्यान्वयन, मजदुरहरुको अनिवार्य पंजिकरण र स्थानीय रोजगारीको माग गर्दै मागपत्र प्रस्तुत गर्ने निर्णय गरेको छ ।


जिल्ला सम्मेलन सफल पार्नको लागि आर्थिक कमिटी लगायत विभिन्न कमिटीहरुको पनि गठन गरेको जानकारी अध्यक्ष भट्टराईले जानकारी गराएका छन् ।
बैठकमा उपस्थित सबैले मौखिक रिपोर्टिङ प्रस्तुत गर्दै संगठनका केही कामहरुलाई व्यवस्थित गरेर लगिसकेको भएता पनि अझै क्यालेण्डर योजना बनाएर चल्न नसकेको र अब देखि क्यालेण्डरमा आधारित योजना बनाउने बताइएको थियो ।
सो बैठकमा अन्टुफका उपाध्यक्ष जय कार्की, नेकपा माओवादी केन्द्रका नेता कमानसिंह पाख्रिन पृथक र ३ नम्बर प्रदेश संयोजक प्रकाश श्रेष्ठले संगठनात्मक तथा वैचारिक प्रशिक्षण दिनु भएको थियो ।