नेपाली समय:
Flash News

मई दिवसको मुखैमा अन्टुफले श्रममन्त्रीलाई मागपत्र बुझाउँदै

-अन्टुफ केन्द्रीय कार्यालय
२५ चैत्र ०७४, काठमाडौं, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुफले “श्रम ऐन र सामाजिक सुरक्षा कोष ऐन कार्यान्वयन गरौं, समाजवादी क्रान्तिको आधार तयार पार्दै १२९ औं मे दिवस भव्य रुपले सफल पारौं” भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय मजदुर दिवस मे दिवस मनाउने भएको छ ।
हरेक वर्ष विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवसको रूपमा मनाइने ‘मे दिवस’को सन्दर्भमा आइतबार महासंघको कार्यालय कोटेश्वरमा बसेको उपत्यकामा उपलब्ध पदाधिकारी र पेशाका नेतृत्वको बैठकले मे दिवसलाई समाजवादी क्रान्तिको आधार तयार गर्ने कार्यक्रमका रुपमा मनाउने निर्णय गरेको हो ।


बैठकले एकताबद्ध सङ्घर्षमार्फत विजय हासिल गरेको गौरवपूर्ण दिनका रुपमा मनाइने विश्व मजदुर दिवसको सन्दर्भमा श्रम मन्त्रीलाई विभिन्न पेसागत संगठनहरु मार्फत महासंघलाई प्राप्त भएका मागहरुलाई लिपिबद्ध गरी माग पत्र बुझाउने, रक्तदान गर्ने लगायतका कार्यक्रम गर्ने निर्णय गरेको छ ।
महासंघका अध्यक्ष गणेश रेग्मीले २०७५ बैशाख १० देखि १३ गतेसम्म प्रचारप्रसार गर्ने, १४ गते श्रम मन्त्रीलाई ज्ञापनपत्र बुझाउने, १६ गते रक्तदान गर्ने र १८ गते काठमाण्डौमा केन्द्रिकृत विशाल सभा गर्ने, प्रदेशहरु र जिल्लाहरुमा पनि मजदुर र्यालीसहित भव्यरुपमा मे दिवस मनाउने निर्णय भएको जानकारी दिए ।
नेपालको संविधानमा श्रमसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको उल्लेख गर्दै अध्यक्ष रेग्मीले सामाजिक सुरक्षा कोष एेन र श्रम एेन कार्यान्वयनलाई आन्दोलनको रुपमा अघि बढाउनुपर्ने बताए ।
मजदुर तथा श्रमजीवी वर्गको एकता, सङ्घर्ष र बलिदानबाट आठ घन्टा काम, आठ घन्टा आराम र आठ घन्टा मनोरञ्जनलगायतका हकअधिकार प्राप्तिको स्मरण गराउने गौरवशाली दिनका रूपमा विश्वभर ‘मे दिवस’ मनाइन्छ । १२९ औं मई दिवसलाई व्यवस्थित गर्नका लागि महासंघले समुचित कार्यविभाजन पनि गरेको छ ।