नेपाली समय:
Flash News

युएईमा क्रियाशील संघ सस्थाले संयुक्त रुपमा २५६२ औं बुद्ध जयन्ती मनाउदै ।

 अनिस तामाङ 

युएई २ मई, मध्यपूर्वको विकसित राष्ट्र युएईमा शान्तिको अग्रदुत महामानव गौतम बुद्धको २५६२औं जन्म जयन्तीको अवसर पारेर क्रियाशील संघसंस्थाहरुको संयुक्त आयोजनामा बुद्ध जयन्ती कार्यक्रम गरिने भएको छ ।

नेपाल आदिबासी जनजाति महासंघ युएई लगायतका ४६ वटा संघसंस्थाहरुले गतसाल संयुक्त रुपमा बुद्ध जयन्ती कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको र यसपटक पनि त्यसरी नै यहीँ आउदो मे ११ तारिखका दिन दुबईको अलकुज डल्सको हलमा बुद्ध जयन्ती कार्यक्रम सामूहिक रुपमा मनाउन लागेको कार्यक्रम व्यवस्थापक प्रमूख सुरेन्द्र थिङ तामाङले जानकारी दिएका छन् ।

दिउँसो ठिक २ बजे सुरु हुने उक्त बुद्ध जयन्ती कार्यक्रममा लामा गुरुहरुद्धारा बुद्धको पाठपूजा गर्ने, बुद्धको उपदेशहरु प्रचारप्रसार गर्नेदेखि सांस्कृतिक कार्यक्रमको समेत भव्य तयारी गरिरहेका छन् । प्रवासमा रहेर गीत संगीतलाई निरन्तरता दिँदै आएका कलाकारहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले यसपटक कार्यक्रममा नेपालबाट कलाकार नल्याउने भनिए तापनि ‘सत्यकृत ब्याण्ड’ आफ्नो ब्याण्डको प्रचारप्रसारको लागि युएई आउने भएको छ ।

युएईमै पनि राष्ट्रिय स्तरको कलाकारहरु धेरै जना भएको तर उनीहरुको कलाको उचित मुल्याङ्कन नभएको गुनासोपश्चात् आयोजकले यसपटक प्रवासी कलाकारहरुलाई केही पारिश्रमिक समेत प्रदान गर्ने तयारी गरेका छन् ।

ई.पू. ५६३ बैशाख पूर्णिमाको दिन शाक्य साम्राज्यको महाराजा शुद्धोधन र महारानी मायादेवीको कोखबाट लुम्बिनीमा शालको वृक्षमुनि जन्मिएका महामानव गौतम बुद्धलाई भारतले पटकपटक बुद्ध भारतमा जन्मेको भनेर विश्वसामू गलत प्रचारप्रसार गरिरहेकोले यसपटक उक्त भ्रमलाई चिर्ने उद्धेश्यले बुद्ध वाच बर्न इन नेपाल भन्ने मुल नाराको साथ बुद्ध जयन्ती मनाउन लागेको कार्यक्रम व्यवस्थापक प्रमूख सुरेन्द्र थिङ तामाङले बताएका छन् ।

गौतम बुद्धले ८० वर्षको उमेरमा कुशीनगरको उपवर्तन नामको वनमा दुईटा शाल वृक्षको मुनि वैशाख पूर्णिमाको रात्रीको तेश्रो पहरमा महापरिनिर्वाण (देहत्याग) प्राप्त गर्नुभएको थियो । भगवान बुद्धका जीवनमा घटित यी तीनै परिघटना (जन्म, बोधिसत्व र महापरिनिर्वाण) संयोगावस्था बैशाख पूर्णिमाकै दिन भएको कारण यस पूर्णिमा सम्पूर्ण बौद्धमार्गीहरूलाई विशेष रहेको छ । यस दिनलाई सँसारभरिको बौद्धमार्गीहरू र नेपालीहरुले बुद्ध जयन्तीको रुपमा प्रत्येक वर्ष मनाउँदै आईरहेको छ ।

प्रवासमा रहेका नेपालीहरुले वैशाख पुर्णिामा नै बुद्ध जयन्ती मनाउन नसके पनि समय अनुकुल केही दिन ढिलो मनाउँदै आएको छ। यस वर्ष पनि बुद्ध जयन्ती बैशाख १७ मा बुद्ध जयन्ती भए पनि युएईका संघसंस्थाहरुले भने वैशाख २८ अर्थात मे ११ मा संयुक्त बुद्ध जयन्ती मनाउने भएको छ।